चुनावपछि गठबन्धनकै सरकार - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

चुनावपछि गठबन्धनकै सरकार


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए ।

“देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उनले भने । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उनले विश्वास दिलाए ।

“गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ । गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ”, उनले भने, “प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन । जबसम्म संविधानमाथि, सुशासन र समृद्धिको यात्रामा खतरा पैदा रहन्छ तबसम्म गठबन्धन रहन्छ ।”

निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रिया थालनी गर्ने विश्वास व्यक्त गरेका छन् । सुशासन र समृद्धिका लागि परिवर्तनको वाहक दलको नेतृत्व भएमात्र मुलुकमा समृद्धि सम्भव हुने उनको दाबी छ । संविधान जारी भएपछिको दोस्रो निर्वाचनका रुपमा यो ऐतिहासिक महत्वको निर्वाचन भएको उनको भनाइ छ ।

आफू गोरखाबाट निर्वाचन लडे पनि चितवनको विकासमा आफ्नो ध्यान सदैव रहने प्रतिबद्धता व्यक्त गरे । “मैले चितवन छाडेको होइन, तर निर्वाचनका लागि गोरखा गएको पक्कै हो”, उनले भने, “चितवनसँग मेरो सम्बन्ध टुट्ने कुरा हुँदैन ।”