कतै मत पेटिका फुटाइयो, कतै मतपत्र जलाइयो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

कतै मत पेटिका फुटाइयो, कतै मतपत्र जलाइयो


काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपले भइरहँदा केही स्थानमा भने अप्रिय घटना भएका छन् । सिरहामा दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो ।

बाजुराको स्वामिकार्तिक फापर गाउँपालिकामा भने मतपत्र जलाइएको छ । मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको हो। प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्स भित्रै मतपत्रमा आगो लगाइएको हो। स्वामिकार्तिक फापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले ब्यालेटबक्समा आगो बलिसकेपछि मात्र देखिएको जानकारी दिए।

यता, नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफूले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

झापाको एक मतदान केन्द्रमा बम विष्फोट भएको छ । झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो । मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको मतदाताहरुले बताएका छन् ।

त्यस्तै, यता दोलखाका विभिन्न मतदान केन्द्रमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड बढी हवाई फायर गरिसकेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन्। झडपपछि केही स्थानमा पुनः मतदान सुरु भएपनि केही स्थानमा अझै मतदान रोकिएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।