मुस्ताङका सबै क्षेत्र कांग्रेसको पोल्टामा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मुस्ताङका सबै क्षेत्र कांग्रेसको पोल्टामा


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुस्ताङमा क्लिन स्विप गरेको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जितेको हो ।

प्रतिनिधि सभामा सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भए । उनले निवर्तमान सांसद नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरे ।

त्यस्तै प्रदेश सभा क मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

त्यस्तै प्रदेश सभा ख मा कांग्रेसर्क विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।

शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै कांग्रेसका तीनै जना विजेताले संसदमा डेब्यु गरेका छन् । तीनै जना पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । एमालेका भने सबै निवर्तमान सांसद हुन् ।

योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्विप गरेको हो । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।