प्रारम्भिक मत परिणाम: स्थापित राजनीतिक दललाई त्रास - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

प्रारम्भिक मत परिणाम: स्थापित राजनीतिक दललाई त्रास


काठमाडौं । यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । आइतबार भएको मतदानको मतगणना चलिरहंदा ठूला र पुराना राजनीतिक दलहरु निकै ठूलो चुनौती खेपिरहेका छन् । किनकी प्रारम्भिक मतगणनाको रुझान हेर्दा अनपेक्षित परिणाम आउने संकेत देखिएको छ ।

पछिल्लो समय गठन भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले ल्याएको प्रारम्भिक परिणामलाई निरन्तरता दिँदै अन्तिम परिणाम आफ्नो पक्षमा पारे मुलुकको राजनीतिमा नयाँ संकेत देखिनसक्छ । तर, पुराना र स्थापित राजनीतिक दलहरु नै सत्ता सञ्चालनमा निर्णायक हुने देखिँदा नवप्रवेशी दललाई संसदीय राजनीतिक त्यति सहज नहुने निश्चित छ ।

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि भएको मतदानको प्रारम्भिक मतगणनामा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित अग्रता लिएको छ । २०७२ सालमा संविधान सभाबाट जारी नेपालको संविधानले सेरिमोनियल राष्ट्रपति र संसदीय व्यवस्थासहित कार्यकारी प्रधानमन्त्रीको साशकीय स्वरुपको व्यवस्था गरेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानले व्यवस्था गरेको संसदीय प्रणाली विपरित आगामी प्रधानमन्त्रीको लागि पार्टीभित्र आन्तरिक चुनाव गरिसकेको छ ।

चुनावी प्रचारप्रसार क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायत नवप्रवेशी दल र स्वतन्त्र उम्मेदवारहरुले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै मत मागेका थिए । तर, संसदीय प्रणालीमा चुनावीको अन्तिम परिणामपछि कुनै पनि पार्टीको संसदीय दल गठन हुन्छ । उक्त दलले दलको नेतामा चयन गरेको व्यक्ति पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार हुन्छ । पार्टीले उम्मेदवार चयन गरेर मात्र हुँदैन ।

प्रतिनिधि सभा २७५ सदस्यमध्ये संसदमा बहुमत जुटाउनुपर्छ । सांसद पद सडकमा आन्दोलन गरे जस्तो सहज र खुल्ला हुँदैन । सांसद बनेपछि संसदीय मर्यादा र नीति नियमभित्र बाँधिनु पर्छ । संसदीय व्यवस्थामा कुनै पनि सांसदलाई संसदीय मर्यादा उल्लंघनको सुविधा हुँदैन । हुन त शान्ति सम्झौता पछि नेपालको राजनीतिमा रहर र लहड देखिँदै आएको छ । वि.स. २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी र मधेश केन्द्रित राजनीतिक दलहरुले अनपेक्षित परिणाम ल्याए । वि।स। २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा वर्तमान व्यवस्थाको विरुद्ध रहेको राप्रपा नेपालले समानुपातिकतर्फ अनपेक्षित परिणाम ल्यायो । तर, अघिल्लो निर्वाचनमा अनपेक्षित परिणाम ल्याएका दलहरु साँघुरो घेरामा खुम्चिन पुगे ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दल र साझा पार्टीले अनपेक्षित मत पाए । तर, ५ वर्षपछि गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टी जमानत जोगाउन नसक्ने अवस्थामा पुग्यो । २०७४ सालको आमनिर्वाचनबाट झण्डै दुई तिहाई मत ल्याएको तत्कालिन नेकपा ५ वर्षपछि छिन्नभिन्न अवस्थामा पुग्यो । आइतबार सम्पन्न आमनिर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित परिणाम ल्याईरहेको छ । यो परिणामले मुख्यगरी पुराना दलप्रतिको वितृष्णा र जनताले राजनीतिमा नयाँपन खोजेको रुपमा विश्लेषण गर्न थालिएको विश्लेषण पत्रकार अक्कल कुँवरको छ । ।