प्रत्यक्षमा कांग्रेसको अग्रता, समानुपातिकमा एमाले अगाडी - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

प्रत्यक्षमा कांग्रेसको अग्रता, समानुपातिकमा एमाले अगाडी


काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।

अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, काठमाडौं १ मा प्रकाशमान सिंह, काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, मनाङ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसकै योगेश गौचन थकाली, कैलाली ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।

यता, समानुपातिकतर्फको मतगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार ३२३, कांग्रेसले ६५ हजार ५९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३३७, माओवादी केन्द्रले २९ हजार ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले पाँच हजार ८३३, जनमत पार्टीले पाँच हजार ४५५, नेपाल मजदुर किसान पार्टीले चार हजार ४३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५३८, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ४६० मत प्राप्त गरेका छन् ।