रसुवामा कांग्रेसका आचार्य र उदयपुरमा एमालेका रायमाझी विजयी - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

रसुवामा कांग्रेसका आचार्य र उदयपुरमा एमालेका रायमाझी विजयी


काठमाडौं । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनले ९ हजार ६२१ मतले नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् । रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

उता, उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनले १५ हजार २५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे ।