दुर्गाप्रसादको परिवारमा खुशी भन्दा दुःख धेरै, क्षतिपूर्ति मागे उपलब्ध गराउन आदेश - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

दुर्गाप्रसादको परिवारमा खुशी भन्दा दुःख धेरै, क्षतिपूर्ति मागे उपलब्ध गराउन आदेश


काठमाडौं । कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा गरिएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार कलकत्ताको उच्च अदालतले इलामका तिम्सिनाको मुद्दा फैसला गर्दै उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको हो ।

दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको हो । बिना सुनुवाई चालीस वर्ष भारतको पश्चिम बंगाल जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना भारतकै केही वकीलको पहलकदमीमा शनिबार रिहा भई आइतबार नेपाल आएका हुन । उनको मानसिक अवस्था पनि कमजोर रहेको छ ।

यता दुर्गाप्रसादका परिवारले क्षतिपूर्तिका लागि पहल गरिदिन मानवअधिकारवादीहरुसँग आग्रह गरेका छन् । दुर्गाप्रसाद घर पुगेको दोस्रो दिन सोमबार पनि खासै खुशी छैनन् । दुर्गाका भतिज गोपाल तिम्सिना भन्छन्,‘आज पनि खासै खुशी हुनुहुन्न, खानेकुरा हिजोभन्दा अलिक बढी खानुभयो तर मन प्रसन्न छैन् उहाँको’, उनले भने,‘सबैभन्दा ठूलो समस्या भनेको घरपरिवारको अवस्था दयनीय छ, आय आर्जन छैन्, ८५ बर्षीया हजुरआमा पनि विरामी हुनुहुन्छ, अहिल काका पनि यस्तो अवस्थामा फर्किनुभयो अब कसले गर्ने स्याहारसुसार ? खर्च कसरी ब्यवस्थापन गर्ने ? तनावमा छौं ।’

धनमायाको दाहिने हात काटेर फालिएको छ । श्रवण क्षमता पनि कम छ । दुर्गाका भाई कान्छा धर्मानन्दमा पनि मुटु र ब्रेनसम्बन्धी समस्यामा छन् । उनको उपचारमा एक बर्षमा सात लाख रुपैंयाँ ऋण लागिसकेको छ । डाक्टरले दुर्गाप्रसादको ‘आइक्यु लेभल’ नौ वर्षका बालकको जस्तो भएको छ भनेका छन् । भतिज गोपाल तिम्सिना भन्छन्,‘मानसिक अवस्था उस्तै छ, केही सुधार भएको छैन् , उहाँको अवस्था पुनः पुरानै अवस्था फर्फिन सक्ने अवस्था देखिदैन् ।’ बुवा चम्पाखर र माइलो दाइ केदारको यसअघि मृत्यु भइसकेको छ ।

नेपाल सरकारका पूर्वसचिब भीम उपाध्ययले दुर्गाप्रसादको परिवारलाई संहयोग संकलन गर्न अब्हान गरेका छन् । तर भारत सरकारसँग क्षतिपूर्तिका लागि पनि पहल गर्न नसकेको गोपालले सुनाए । उनी भन्छन्, ‘उहाँलाई अदालतले दोषी पनि सावित गरेको छैन्, निर्दोष पनि भनेको छैन् हामी के आधारमा पहल गरौं ?, हामीलाई सबै शुभेच्छुकहरुको मानवीय सहयोगको अपेक्षा गरेका छौं ।’

दुर्गाप्रसाद शनिबार कोलकात्तास्थित दमदम जेलबाट मुक्त भएका हुन् । मंगलबार बजारमा तोरी बेच्न भनी हिंडेका उनी रोजगारीको शिलशिलामा दार्जिलिङ पुगेका थिए । दार्जिलिङ्ग पुगेर चिया बमानमा काम गर्दै गर्दा हत्याको अभियोगमा जेल परेका थिए । १९८० मा पक्राउ परेका दुर्गाप्रसादले ४१ वर्ष भारतीय जेलमा विताउनु परेको हो ।

२०३७ सालमा हराएका दुर्गाप्रसादका बारेमा लामो समय परिवारलाई पत्तो थिएन । करिब एक दशकअघि भारतबाट उनले घरमा चिठ्ठी लेखेपछि परिवारलाई थाहा भएको थियो । उनका विरुद्ध दार्जिलिङ प्रहरीमा नैन घलेले उजुरी हाले पनि जाहेरवाला कुनै अड्डा–अदालतमा उपस्थित नहुँदा आरोप प्रमाणित त भएन नै सुनुवाइसमेत नहुँदा अनाहाकमा जेल जीवन विताउनु परेको हो ।

कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका दुर्गा आइतबार काँकरभिट्टा हुँदै इलाम पुगेपनि घरमा खुशीसँगै दुःखपनि शुरु भएको छ । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्ण र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार दुर्गाप्रसादलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।