समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस, स्वतन्त्र पार्टी भन्दा माओवादी केन्द्र पछाडी - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस, स्वतन्त्र पार्टी भन्दा माओवादी केन्द्र पछाडी


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार शुक्रबार बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा एमाले शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्मको मत गणना परिणामअनुसार १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ । जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ । सरकार बनाउन समानुपातिक मतको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्रत्यक्ष र समानुपातिक दुवै जोडेर संसदमा कुन ठूलो दल बन्छ भन्ने सबैको चासो छ ।