पूर्ण मत परिणाम नआउँदै नयाँ सरकारको रस्साकस्सी - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

पूर्ण मत परिणाम नआउँदै नयाँ सरकारको रस्साकस्सी


काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो अवस्थामा छन । प्राप्त मत परिणामका आधारमा भावी सरकारको विषयमा सामान्य बहस आरम्भ भएको छ ।

गठबन्धनमा रहेका दलहरुले नतिजाबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनीहरुबीच असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन् । असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ । यसै सिलसिलमा विहीबार मात्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए ।

त्यस्तै ओलीले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् । चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।

ओली अभिव्यक्ति मात्र होइन भावी सरकारका विषयमा नेताहरूले आन्तरिक छलफल थालिसकेका छन् । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भए पनि अहिलेदेखि नै सरकार निर्माणका विषयमा विभिन्न कोणबाट छलफल भइरहेको नेताहरु बताउँछन् ।

सरकारमा कुन कुन दल सामेल हुन्छन भन्ने नभए पनि कांग्रेस र एमालेबीच सरकार गठनमा सहमति हुर्नुपर्छ भन्ने ओलीको संकेत छ । कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक बन्नसक्ने देखिन्छ ।

काठमाडौं उपत्यकामा आएको परिणामबाट गठबन्धन आबद्ध नेपाली कांग्रेसले चित्त बुझाउने अवस्था बन्दै गर्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निल भइसकेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ भने ललितपुरमा एउटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ जित हात पारेको छ ।

भक्तपुरमा १ क्षेत्रमा कांग्रेसले जित निकालेको छ । काठमाडौं २ मा माओवादी केन्द्रकी उम्मेदवार रहेकी ओनसरी घर्ती पराजित हुँदा काठमाडौं ७ मा माओवादी केन्द्रकै चिह्न लिएर उठेकी मानुषी यमी भट्टराई पराजित बन्न पुगिन् । यसैगरी, काठमाडौं ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ पराजित हुँदा काठमाडौं ९ मा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमला पराजित भएकी हुन् ।

यस्तै, ललितपुर ३ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेकी पम्फा भुषाल पराजित बनेकी हुन् । यसैगरी, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका सुनिलबासु गोठे पराजित बन्न पुगेका हुन् । उता नेकपा एसका सम्मानीत नेता झलनाथ खनाल पनि पराजित हुनसक्ने देखिएपछि गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरु असन्तुष्ट बन्ने देखिन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त बिहीबार गृह जिल्ला रौतहटमा असन्तुष्टि खुलेरै पोखे । ‘परिणामले हामीलाई शिक्षा दिएको छ, कमीकमजोरी भएको छ भने सुधारले अघि बढ्नेछौं, सबै परिणाम आओस्,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग भने । उनले अब बन्ने सरकार कसको बन्छ भन्ने विषयमा भने ‘अनुमान गर्न सकिन्छ,’ भन्ने अभिव्यक्ति दिए ।

कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था नदेखिएपछि दलहरूबीच अनौपचारिक संवादमार्फत सरकार गठनका छलफल सुरु भएको हो । बधाई तथा शुभकामना आदनप्रदान चलिरहेककै बेला नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्यमा जुटेका छन् ।