गठबन्धन कायम रहन्छ, एमालेसँग सहकार्य असम्भव - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

गठबन्धन कायम रहन्छ, एमालेसँग सहकार्य असम्भव


काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभातर्फको मत गणना जारी रहँदा सत्तारुढ गठबन्धनका नेताहरुले आपसी भेटघाटलाई तिब्रता दिएका छन् । १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइरहँदा भावी सरकार निर्माणको समीकरणबारे दलहरु छलफलमा जुटेका छन् ।

शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पाँच दलीय गठबन्धन चुनावपछि नरहने चर्चा चलिरहेका बेला नेताहरुले भेटघाटलाई बाक्लो बनाएका हुन् । चुनावअघि गठबन्धन अझै १०–१५ बर्षसम्म जाने बताएका नेताहरु भावी सरकार पनि पाँचदलीय गठबन्धनकै रहने पनि बताउँदै आएका छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरुले चुनावमा कांग्रेस इमान्दार नभएको र आफ्ना उम्मेदवारलाई जिताउन सहयोग नगरेको गुनासो गरिरहेका छन् । तर नेतृत्वमा रहेका दाहाल र माधवकुमार नेपालले चुनावी समीक्षा गरेर अघि बढ्ने सकिने प्रतिक्रिया दिएका छन् । उनीहरुले परिणाम अपेक्षा गरेअनुरुप नआएको भए पनि भावी सत्ता साझेदारीका विषयमा एमालेसँग सहकार्य गर्न नसक्ने बताइसकेका छन् ।

आइतबार विहान मात्र एक रेडियो अन्तरवार्ताका क्रममा दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् ।

उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग सहकार्य नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने,‘अहिले यही गठबन्धन कायम रहन्छ । म अर्को गठबन्धन बनाउने पक्षमा छैन् । एमालेसँग सहकार्य हुँदैन् । हाम्रै गठबन्धनको सरकार बन्छ ।’

निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सरकार गठनको लागि सहकार्यको प्रस्ताव गरेका थिए । दाहालले भने निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी रहेकोले अहिले नै कुनै ठोस निर्णय नलिने भन्दै निर्वाचनको सबै परिणाम आएपछि छलफल गर्न सकिने जवाफ दिएका थिए ।