चुनाव हारेपछि कांग्रेसकै सत्तोश्राप - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

चुनाव हारेपछि कांग्रेसकै सत्तोश्राप


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिए पनि चुनाव हारेका अधिकांश नेताहरु गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसप्रति सन्तुष्ट छैनन् । उक्त पार्टीका सम्मानित नेता झलनाथ खनाल निकै आक्रोशित छन् । खनाल जस्तै चुनाव हार्ने उक्त पार्टीका अन्य नेताहरु पनि आक्रोशित भएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी)को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निस्कर्ष निकाले पनि नेताहरुमा देखिएको असन्तुष्टीले समीकरण फेरबदल हुने हो कि भन्ने आशंका पनि गरिएको छ ।

नेपाली कांग्रेसको सहयोग र बलमा निर्वाचन लडेका एकीकृत समाजवादीका उम्मेदवारहरु केही सामान्य मतले मात्रै हारेका हुन् । उनीहरुको क्षेत्रमा ४ देखि ५ हजार मात्रै एस पार्टीको मत भए पनि कांग्रेसले सहयोग गरेको अवस्थामा मतसंख्या बढेको थियो । तर पनि कांग्रेसको सबै मत ट्रान्सफर नभएको भन्दै एस पार्टीका सम्मानित नेता खनाल लगायतले कांग्रेसलाई आरोप लगाउन छाडेनन् ।

यही बीचमा एस पार्टीले चुनावी समीक्षाका सचिवालय बैठक राखेको थियो । बैठकमा राष्ट्रिय राजनीतिबारे गम्भीर छलफल भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । कांग्रेस र माओवादीको बलमा चुनावमा उत्रिएका नेताहरुमध्ये केही त पार्टी हाक्ने नेताहरु नै पराजित भएका छन् । सम्मानित नेता खनाल, प्रभावशाली नेता सोमप्रसाद पाण्डे, पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री लगायतका नेताहरु पराजित भएकाले गठबन्धन इमान्दार नभएको उनीहरुको भनाइ छ ।

हारेका नेताहरु आफ्नै जनमत नभएको साथै व्यक्तिगत आचरण र अभिव्यक्तिका कारण मतदाताले दण्डित गरेको कांग्रेसीजनको बुझाइ छ । इलाम १ मा खनालले एकीकृत समाजवादीभन्दा झन्डै दोब्बर मत कांग्रेसले पाएका छन्। सो क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकमा सात हजार मत पाएको छ । कांग्रेसले १६ हजारभन्दा बढी मत पाएको छ । तर, खनाल कांग्रेसलाई नै सत्तोश्राप गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनपछि कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा इलाममा खनालकै निर्देशनमा एमालेसँग सहकार्य भएको, इलाम जिससमा एकीकृत समाजवादी र एमालेबीच सहकार्य गर्दै कांग्रेस र माओवादीलाई एक्लाएका थिए । जसको रिस यस पटकको चुनावमा मतदाताले फेरेको हुनसक्ने अनुमान गरिएको छ ।

कांग्रेस, माओवादी, जनमोर्चा सहितको गठबन्धनमा निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन सकेको छैन । समानुपातिकको मत गणनाकै क्रममा रहेकाले थ्रेस होल्ड कटाउन सक्ने संभावना पनि रहेको छ । राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकमा सदर मतको ३ प्रतिशत मत ल्याउनु पर्छ । अहिलेसम्म नेकपा एसले तीन लाख ७६ हजार आठ सय ६८ मत ल्याएको छ । अध्यक्ष नेपालले भने थ्रेसहोल्ड कटाउने दाबी गरेका छन् ।

बैठकमा सरकार गठनका विषयमा भने छलफल नभएको अध्यक्ष नेपालले जनाएका छन् । बैठकमा उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट र आगामी सरकार गठनबारे भएको छलफलका विषयमा पनि बैठकलाई जानकारी गराएका छन् ।

"