बाजुरा र स्याङ्जामा पुनः मत गणना, दोलखामा मतदान - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

बाजुरा र स्याङ्जामा पुनः मत गणना, दोलखामा मतदान


काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो ।

मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गर्दै उजुरी परेपछि बाजुरा र स्याङजामा मतगणना रोकिएको थियो । त्यसमाथि निर्णय गर्दै आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस अघि नै गरिसकेको छ ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो ।

यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।

एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए ।

तर बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । जसकारण बिहीबार साँझदेखि मतगणना शुरु हुने भएको छ ।

 

"