संसदीय दलको चुनाव लड्ने तयारीमा गगन - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

संसदीय दलको चुनाव लड्ने तयारीमा गगन


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्।

महिला सुरक्षा दवाव समूह, नेपालले गरेको एक कार्यक्रममा उनले मंसिर १५ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गरे । त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको उनले बताए ।

महामन्त्री थापाले सबै राजनीतिक दलले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानून संशोधन गर्ने काममा ढिलाई गर्न नहुने बताए ।

कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले कसरत गरिरहेका छन् । कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ।

संसदीय दलको नेतामा खासगरी सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। उनीहरु दुवैले आआफ्नो तयारी अगाडि बढाएका छन्।