समानुपातिकतर्फ मत गणना : माओवादी र स्वतन्त्र पार्टीले ११ लाख कटाए - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

समानुपातिकतर्फ मत गणना : माओवादी र स्वतन्त्र पार्टीले ११ लाख कटाए


काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको १ करोड २ लाख २२ हजार २२२ मत गणना भइसकेको छ ।

बिहीबार बिहान नौ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर सँगै स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ । त्यस्तै ११ लाख ५४ हजार ५९१ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र तेस्रो भएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ । यस्तैगरी जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ ।

कानून अनुसार प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनु पर्छ । राष्ट्रिय दल बन्नका लागि करिब ३ लाख ३० हजार मत समानुपातिकतर्फ ल्याउनु पर्ने देखिन्छ । तर कति मत बदर भयो भन्नेबारे आयोगले अहिले केही उल्लेख गरेको छैन ।