नौ अर्ब ६० करोडको भब्य भवनमा संसद बैठक बस्ने योजना अधुरै - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नौ अर्ब ६० करोडको भब्य भवनमा संसद बैठक बस्ने योजना अधुरै

निर्माण ढिलाइ हुँदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वार्षिक १५ करोड भाडा तिर्न सरकार बाध्य


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएर निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै सङ्घीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रारम्भ गरेको छ । तर भब्य र सुविधा सम्पन्न रुपमा सिंहदरबारमा निर्माण भइरहेको संसद भवनमा यसपाली बैठक बस्ने छैन ।

सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरुले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्र पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ ।

समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपैयाँ पुरानै ठाँउमा तिर्दैमा सकिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्नुपर्दछ । कुल १५१ रोपनीमा निर्माणाधीन सङ्घीय संसद् भवन पाँच तले बन्नेछ । माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ।

आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् । कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ ।

यत्रो आलिसन र भब्य ससंद भवनमा यसपालीको बैठक शुभारम्भ हुनबाट बन्चित भएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरुले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ । संसद् बैठक बस्नु अगावै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये ज्येष्ठ सांसदले राष्ट्रपतिबाट शपथ लिनेछन् । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराएपछि संसद् बैठक प्रारम्भ हुनेछ । तर बैठक नयाँ भवनमा नभइ पुरानै भवनमा हुने लगभग निश्चित छ ।

उता, प्रतिनिधिसभाको यस निर्वाचनबाट दलहरु र स्वतन्त्र सांसदको सङ्ख्या बढ्ने देखिएपछि त्यसको व्यवस्थापनको तयारीमा सचिवालय जुटेको छ । थपिने दलहरु र सांसदका लागि सिंहदरबार परिसरमै संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष र बैठककक्ष, सवारी साधन र कर्मचारीलगायत आवश्यक व्यवस्थापनको तयारी थालिसकिएको सचिवालयले जनाएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचवटा राष्ट्रिय दल बनेका थिए भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीलाई पनि सचिवालयले दलको कार्यालय उपलब्ध गराएको थियो । यसबाहेक दुई वा दुईभन्दा बढी सांसद भएका दललाई सचिवालयले संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष, बैठक कक्ष उपलब्ध गराउनुपर्नेछ । यस निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ भने पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।