सत्ता गठबन्धनलाई निरन्तरता - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सत्ता गठबन्धनलाई निरन्तरता


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुले आफूहरुमा कुनै तिक्तता नभएको सन्देश दिएका छन् । नयाँ सरकार निर्माणका सवालमा नयाँ समीकरण बन्ने चर्चा भइरहेका बेला गठबन्धनको बैठकले साझेदारीलाई निरन्तरता दिने भएका हुन् ।

बैठकले निर्वाचन नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी परिणाम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको थियो । तर बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेको छ ।

बैठकपछि जारी संयुक्त बक्तब्यमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । ‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ’ विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको विज्ञप्तिमा भनिएको छ ।