सात दल राष्ट्रिय पार्टी, नेकपा एसलाई साढे १८ हजार अपुग - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

सात दल राष्ट्रिय पार्टी, नेकपा एसलाई साढे १८ हजार अपुग


काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको आयोगले जनाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत प्राप्त गरेको छ ।

अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

जसमा नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।