माओवादीले सरकारसँगको समर्थन फिर्ता नलिएसम्म कांग्रेस बोल्दैन - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

माओवादीले सरकारसँगको समर्थन फिर्ता नलिएसम्म कांग्रेस बोल्दैन


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको बताएका छन् ।

प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको उनको आरोप छ । मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गरे ।

देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्नेमा जोड दिए ।

अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने चेतावनी देउवाको छ । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नाम, थर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।

फरक प्रसङ्गमा देउवाले केपी ओली नेतृत्वको सरकार नेकपा एमाले र माओवादी केन्द्रको बहुमत प्राप्त संयुक्त सरकार भएको स्मरण गराउँदै माओवादीले समर्थन फिर्ता नलिएसम्म कांग्रेसले आफ्नो धारणा सार्वजनिक नगर्ने बताए ।

देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग बहुमत भएकाले कांग्रेसले चाहदैमा नयाँ सरकार गठन नहुने पनि स्पष्ट पारे । उनले सर्वोच्च अदालतको आदेशपछि नेकपा पार्टी, एमाले र माओवादी केन्द्रमा विभाजित भए पनि पुष्पकमल दाहालले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए ।