नयाँ राष्ट्रपतिका लागि दौडधुप - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नयाँ राष्ट्रपतिका लागि दौडधुप


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएर प्रतिवेदन बुझाएसँगै नयाँ राष्ट्रपतिको दौडधुप शुरु भएको छ । पाँच दलीय गठबन्धनका नेताहरुबीच पावर शेयरिङका विषयमा छलफल चलिरहेका बेला भावी राष्ट्रपतिको नाम धमाधम सार्वजनिक भइरहेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रसभा अध्यक्षलगायतका पदहरु कुन दललाई कसरी भागबन्डा गर्ने भन्ने विषय बहस चलिरहेका बेला राष्ट्रपतिका आकांक्षीहरु पनि देखिन थालेका छन् । बुधबार मात्र कांग्रेस नेता मानबहादुर विश्वकर्मा आफूलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव बोकेर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएका थिए ।

उनी अब दलित समुदायबाट राष्ट्रपति बनाउनुपर्ने र त्यसमा आफूलाई प्रस्ताव गर्न आग्रह गरेका थिए। त्यस्तै कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, एमालेबाट सुवासचन्द्र नेम्वाङ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नन्दबहादुर पुनलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेको छ । त्यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि राष्ट्रपतिको रेशमा छन् ।

कांग्रेस र माओवादी दुवैले अनौपचारिक रुपमा पहिले आफूले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गरेका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेको छ । सत्तागठबन्धनका प्रमुख दलहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ । समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ ।

तर दुई दिनयता गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्न लबिङमा लागेको विषयले राजनीति तरंगित बनिरहेको छ । यसअघि प्रधानन्यायाधीशकै पदमा रहेर मन्त्रिपरिषद्को अध्यक्ष बनेका खिलराज रेग्मी राष्ट्रपति बन्ने खेलमा लागेका छन् । विभिन्न शक्तिकेन्द्रमार्फत उनी राष्ट्रपति बन्न लागेको खबर बाहिरिएपछि नेपालको राजनीतिमा सनसनी मच्चिएको छ ।