जेलमुक्त भए ‘बिकिनि किलर’ चार्ल्स शोभराज - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

जेलमुक्त भए ‘बिकिनि किलर’ चार्ल्स शोभराज


काठमाडौं । ‘बिकिनि किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ । १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा रहेका चार्ल्सलाई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएको हो ।

अध्यागमन विभागले कुख्यात अपराधी शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी गरेको छ । त्यसअघि विभागले गृह मन्त्रालयसँग राय लिएको थियो । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै शोभराजलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।

शोभराजले थाइल्याण्ड, नेपाल र भारतका पर्यटक विशेष गरी ब्याकप्याकरलाई लक्षित गरेका थिए । शोभराज बिकिनी किलर भनेर मिडिया र प्रहरीमा पनि चिनिन्थ्यो । उनी बिकिनी लगाएका युवतीलाई मार्ने गर्थे त्यसैले उनलाई ‘बिकिनी किलर’ नाम दिइएको हो ।

शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । उनी नेपालमै बसेर मुटुको उपचार गर्न चाहन्थे । तर उनलाई शुक्रबार साँझ फ्रान्स पठाउने तयारी भइरहको प्रहरीले जनाएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने बताइएको छ ।

शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको, कारागारमा उनको चालचलनबारे नराम्रो केही नदेखिएको र कारागारको वातावरण उनलाई राख्न उपर्युक्त नभएको भन्दै संयुक्त इजलासले बुधवारै केन्द्रीय कारागारमा रहेका शोभराजलाई मुक्त गरेर १५ दिनभित्रमा उनको देश पठाउने प्रबन्ध गर्न सरकारको नाममा आदेश दिएको हो ।

२०३२ पुसमा भक्तपुरको मनोहरा खोलानजिकै शव फेला परेको कोन्नी जो ब्रोन्जीचको हत्या अभियोग पुष्टिसँगै उनलाई २०८० सम्मको कैद सजाय सुनाइएको थियो। त्यसभन्दा अगाडि नै शोभराजले हेनरिकस विन्ताजाको लरेन्ट आरमण्डको हत्या अभियोग पुष्टि गर्दै २०६१ साउनमा काठमाडौँ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

उनलाई गैर कानुनी रूपमा थुनामा राखेको दाबी गर्दै गोपाल सिवाकोटी चिन्तनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सो रिटमा उनको तर्फबाट श्रीमतीको रूपमा चर्चित निहिता विश्वास, उनको सासू शकुन्तला थापा, उनको नियमित कानुनी सहयोगी लोकभक्त राणा र रामबन्धु शर्माले बहस गरेका थिए।