नेपालमा कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ संक्रमणको खतरा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नेपालमा कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ संक्रमणको खतरा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको बताए पनि जोखिम भने बढेको यसअघि नै जनाइसकेको छ । बीएफ ७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमूनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमूनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ ७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट १२ हजार बढीको मृत्य भइसकेको छ ।