‘मलाई होइन ओलीलाई अनुशासनको कारवाही हुनुपर्छ’ - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

‘मलाई होइन ओलीलाई अनुशासनको कारवाही हुनुपर्छ’


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टीकरण दिंदैं ओलीसँग पनि जवाफ मागेका छन् । अध्यक्ष ओलीका तर्फबाट मागिएको १० बुँदे प्रश्नको जवाफसँगै नेपालले ओलीमाथि १३ बुँदे प्रतिप्रश्न बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पठाएका हुन् ।

नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ भन्दा बढी उल्टै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका छन् । नेपालले ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग समेत गरेका छन् ।

उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने ओलीलाई पत्रमा नेपालको प्रश्न छ ।

‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालको प्रश्न छ। सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाउँदै नेपालले कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने ओलीले गलत मनासाय बोकेको बताएका छन्।

‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

१५ पेज लामो १३ बुँदे पत्रमा पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । नेपालले ओलीलाई कारवाही हुनुपर्ने पनि माग गरेका छन् । नेपालले ओलीमाथि पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्‍याएको, जनताको, विशेषतः श्रमजीवी जनताका हितमा कुठाराघात गरेको, गुटबन्दी गर्दै पार्टीविरुद्ध षड्यन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको आरोप लगाएका छन् ।

त्यस्तै पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याएको, सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनियता भंग गरेको विधान उल्लंघन गरेको समेत आरोप लगाएका छन् ।

पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यताविपरीत मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति पार्टीका नेतामाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तिहरुलाई प्रश्रय दिने ओलीलाई नै कारवाही हुनुपर्ने नेपालको भनाइ छ । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ नेता नेपालले बिहीबार पठाएका हुन्।