प्रचण्ड सरकारसँग मिलेर काम गर्न भारतको इच्छा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

प्रचण्ड सरकारसँग मिलेर काम गर्न भारतको इच्छा


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि भारतले चासो दिएको छ । भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको पनि जनाएको छ ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताए ।

उनले भने,’पुष्पकमल दाहालनेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न हामी उत्सुक छौं।’ नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले यस्तो बताएका हुन् ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डलाई बधाई दिएका थिए । ट्विटरमार्फत् मोदीले नेपाल र भारतबीच जनस्तरको सांस्कृतिक सम्बन्धमा आधारित मित्रता सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

‘‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई छ । भारत र नेपालबीचको विशिष्ट सम्बन्ध गहिरो सांस्कृतिक र जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई थप सुदृढ गर्न म तपाईँसँग मिलेर काम गर्न प्रतिक्षारत छु’ मोदीले ट्विटरमा भनेका छन् ।