ओली विदेशीसामु लम्पसार परे, पार्टीको १८ करोड हिनामिना भयो - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

ओली विदेशीसामु लम्पसार परे, पार्टीको १८ करोड हिनामिना भयो


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणको १४ बुँदे जवाफी पत्र पठाएका छन् । जवाफी पत्रमा रावलले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोपहरु समेत लगाएका छन् ।

पार्टी महासचिव ईश्वर पोखरेलले उपाध्यक्ष रावललाई सोधेको स्पष्टीकरणमा पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपलाई खण्डन गर्दै पार्टी अध्यक्ष ओलीले १८ करोड हिनामिना गर्न खोजेको आरोप लगाएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टी एकीकरणपछि केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड हिनामिना गर्न खोजेको रावलको आरोप छ । रावलले पठाएको स्पष्टिकरणमा ओलीमाथि दर्जन बढी प्रश्न सोधेका छन् ।

रावलले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बुझाएको स्पष्टीकरणमा पार्टी सम्पत्तिको हिनामिना र आर्थिक अनुशासनहीनता गरेको भन्ने कुरा झुठो र हास्यास्पद रहेको बताएका छन् ।

पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्याएको, सिद्धान्त, भंग गरेको, गराएको, विपक्षीसँग अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनीयता पटक साँठगाँठ गर्दै पार्टीलाई कमजोर तुल्याएकाले नेपाली जनता र नेकपा (एमाले) पार्टी पंक्तिलाई ओलीले स्पष्टीकरण दिनुपर्ने कुरा रावलले उठाएका छन् ।

रावलले ओलीलाई कारवाही गर्नुपर्ने प्रश्न उठाउँदै भनेका छन्–‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भइ कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ ।’

त्यस्तै ओलीलाई विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको समेत रावलले उल्लेख गरेका छन् । जनमानसमा भ्रम छर्न आफूमाथि झुटो आरोप लगाएको रावलको दाबी छ ।