जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने


काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले नेपाल विद्युत प्राधिकरणले पोल भाडा ६०० देखि ७०० प्रतिशतसम्म बढाएको भन्दै आफूहरु मर्कामा परेको उल्लेख गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा इन्टरनेट सेवा रोकिन सक्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले विद्युत प्राधिकरणको गैरकानुनी क्रियाकलाप नरोकिएसम्म इन्टरनेट सेवा प्रदान गर्न अफ्ठ्यारो हुने बताए । आइस्पानका पदाधिकारीहरुले प्राधिकरणले एकलौटी रुपमा भाडा दर तोक्दै भुक्तानी नगरेमा लाइन नै काट्न लागेकोमा चिन्ता व्यक्त गरेका छन् ।

विद्युत प्राधिकरणले हाल काठमाडौं, विराटनगर, इनरुवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटेकोले सो स्थानमा सेवा रोकिन सक्ने आइस्पानले जनाएको छ ।

अहिले इन्टरनेट सेवा प्रदायकहरु देशभर इन्टरनेट सेवा उपलब्ध गराउन एक मात्रै विकल्प नेपाल विद्युत प्राधिकरण ९एनईए या नेविप्रा० का बिजुलीका पोलमा लगभग पूर्णरुपमा निर्भर छन् ।

विद्युत प्राधिकरणले पोल भाडालाई व्यवसाय बनाउन खोज्दा इन्टरनेट सेवा प्रदायक मर्कामा परेर सर्वसाधारण नै इन्टरनेट सेवाबाट बञ्चित हुनुपर्ने स्थिति आउने चिन्ता रहेको बताएका छन् । प्राधिकरणले ३० हजारको एउटा बिजुलीको पोलबाट ३ लाख भन्दा बढी आम्दानी गर्न खोजिरहेको उनको आरोप छ ।

यस्तै आइस्पानका वरिष्ठ सल्लाहकार एवं कार्यकारी सदस्य विनय बोहराले विद्युत प्राधिकरणले सरकारी निर्णयहरुलाई नै लत्याउँदै पोल भाडा बढाएको बताएका छन् । सरकारले भाडा घटाएर नयाँ भाडा तय गर्दासमेत विद्युत प्राधिकरण आफ्नै पुरानो बढाएको भाडाको अडानमा रहेको उनले बताएका छन् ।

इन्टरनेट मानव जीवनको अभिन्न अंग बनेका बेला यसलाई झनै सस्तो बनाउँदै लैजानु पर्ने बेला प्राधिकरणले चर्को पोल भाडा उठाएर सेवा प्रदायकहरुलाई र उपभोक्ताहरुलाई मारमा पार्न खोजिरहेको उनको भनाइ छ ।

यस्तै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले पनि प्राधिकरणले एकलौटी रूपमा भाडा चर्काएको भन्दै आपत्ति जनाए । प्राधिकरणले मनपरी भाडा दर बढाउन नहुने भन्दै क्यान र व्यक्तिगत तर्फबाट उनले यसको विरोध गरेका छन् ।

आइस्पानका अनुसार पहिले महानगर र उपमहानगरमा विद्युत प्राधिकरणले प्रति किलोमिटर ४ हजार १ सय रुपैयाँ भाडा लिँदै गरेकोमा बढाएर १५ हजार पुर्याएको छ । यस्तै नगरपालिकामा पहिले प्रति किलोमिटर २ हजार १ सय रुपैयाँ भाडादर बढाएर ९ हजार पुर्याएको छ । गाउँपालिकामा पहिला १ हजार रुपैयाँ रहेको भाडादर बढाएर ७ हजार पुर्याएको छ । पोल भाडा विवादसँगै लथालिंग अवस्थामा रहेका इन्टरनेट सेवा प्रदायकका तारहरुको विषयमा समेत आइस्पानका पदाधिकारीहरु बोलेका छन् ।