अलमलमा एकीकृत समाजवादी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

अलमलमा एकीकृत समाजवादी


काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारबारे कुनै निर्णय गर्न सकेन । सोमबार र मंगलवार गरी दुइदिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारको विषयमा थप छलफल गर्नुपर्ने भएकाले त्यसको जिम्मा सचिवालयलाई दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी समिति बैठकले सरकारमा जाने या नजाने भन्नेबारे टुंगो लगाउने जिम्मा पोलिटब्यूरोलाई दिएको थियो, तर पोलिटब्यूरोले पनि निर्णय गर्न नसकेपछि पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको हो ।

यसैगरी वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी पनि बैठकले केन्द्रीय सचिवालयलाई दिएको छ । वामपन्थी सहकार्य, एकता, मोर्चा बनाउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने गरी ठोस पहल कदमी गर्ने जिम्मा सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकार लगायत देशको समसामयिक राजनीतिका बारेमा पनि सदस्यहरुले धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई समर्थन गर्न र सरकारमा जानेबारे समाजवादी समक्ष लिखित रुपमा कुनै प्रस्ताव नराखेकाले त्यसबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको हो ।

बैठकका क्रममा बोल्दै अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिए । अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराए । अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको पटक पटक दोहोर्याए ।