सत्ता गठबन्धन आफ्नै बोझबाट थिचिएको छ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

सत्ता गठबन्धन आफ्नै बोझबाट थिचिएको छ


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले भने,’सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएका छन्।’

गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । ‘अहिले नयाँ गठबन्धनबाट सरकार बनेको छ। यो गठबन्धन शुद्ध अवसरकेन्द्रित हो भन्ने हामीलाई लागेको छ,’ प्रवक्ता महतले भने, ‘त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर कुनै हालतमा राजतन्त्र हुँदैन गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेसम्म छन्।’

फरक फरक विचार र दृष्टिकोण भएका पार्टीहरू मिलेर सरकार बनेको उल्लेख गर्दै महतले कसले महत्वपूर्ण अवसर लिने भन्नेमा उनीहरू केन्द्रित रहेको बताए। प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गरे । उनले यो गठबन्धनको आयु धेरै नभएको दाबी गरेका थिए।

डा.महतले वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता र पद प्राप्तिकै पछि कुदेको टिप्पणी पनि गरे । उनले युवाहरुलाई नयाँ विश्वास र आकांक्षा दिन सफल पार्टी पनि सरकारमा गएपछि पद प्राप्तिकै लागि कुदेको उल्लेख गरे।