बाम एकताको पक्षमा नेकपा एस - रुपान्तरण
 २०८० चैत्र १७, शनिबार    

बाम एकताको पक्षमा नेकपा एस


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच पार्टी एकताको पहल भइरहेको बताइएको छ । जनता समाजवादीले पनि विचार मिल्नेसँग एकता गर्ने गरी वार्ता समिति बनाइसकेको छ ।

बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्ने काम गर्ने बताए । उनले भने, “हामीले हालैको पोलिटब्यूरो बैठकबाट वाम एकताका लागि पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरु गर्ने भनेर निर्णय गरेका थियौँ । त्यसलाई पूरा गर्न महासचिव भुसाल नेतृत्वको तुलाधर, ज्वाला र पौडेल रहेको चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।”

यसैगरी उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा सरकार पक्षका पार्टीहरूले नै औपचारिक प्रस्ताव नगरेको जानकारी दिए । गएको भदौमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो । तर माओवादी केन्द्रसँगको एकता प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन ।