प्रचण्ड नेतृत्व सरकार ढाल्ने खेल ! - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

प्रचण्ड नेतृत्व सरकार ढाल्ने खेल !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २६ पुसमा विश्वासको मत लिने तयारीमा छन् । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेससँग पावर सेयरिङ नमिलेपछि एमालेलगायतका दलसँग सहकार्य गर्न पुगेका प्रचण्डलाई आफू नेतृत्वको सरकार ढाल्ने खेल शुरु भएपछि तनावमा छन् ।

शुक्रबारमात्र नेपाली कांग्रेसले सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न सकिने अफर गरेको खबर बाहिरिएपछि प्रचण्ड झनै सशंकित बनेका छन् । राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको कुरा संचारकर्मीहरुलाई बताएका थिए । उपाध्यक्ष प्रधानले आफूहरूले स्थिर सरकार चाहेकाले कांग्रेसको प्रस्ताव स्वीकार गर्न नसकीने भने प्रष्ट पारिसकेका छन् । राप्रपा अहिले १४ सांसदसहित सत्ता समीकरणका लागि निर्णायक शक्तिका रुपमा छ।

तर पनि रातारात कुनै उलटपुलट भइहाल्ने हो कि भन्ने डर प्रचण्डलाई परेको छ । विश्वासको मत पाउनबाटै वञ्चित गरिदिएर सरकार ढाल्ने गरी कांग्रेसले सक्रियता बढाएको र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपालाई फकाइरहेको भन्ने समाचारलाई प्रचण्डलाई टाउको दुखाइ भएको छ ।

प्रचण्डलाई विश्वासको मत लिनेबेलासम्म आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका दललाई जोगाएर राख्नै सकस देखिएको छ। राप्रपाले सरकारमा सहभागी हुन र प्रचण्डलाई दिएको समर्थन कायम राख्न २७ पुसमा पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदा घोषणा गर्नेदेखि लिएर उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय माग गरेको छ, जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष शर्मा केपी ओली बढीमा २ मन्त्रालय मात्र राप्रपालाई दिनुपर्ने पक्षमा छन्।

उता, सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना संस्थापक नेता रेशम चौधरीको रिहाइलाई सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि पहिलो र एक मात्र शर्त बनाएको छ । सो पार्टीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रपति समक्ष पेस भएको अध्यादेश जारी भएर नेता चौधरी रिहा भएको अवस्थामा मात्र सरकारलाई दिएको प्रारम्भिक समर्थनलाई संसद्सम्म लैजाने शर्त अघि सारेपछि प्रचण्डलाई अफ्ठयारो परेको छ ।

तर, नागरिक उन्मुक्ति पार्टी भने पहिला परिणाम नआई प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा छ। राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी पेस गर्न जाँदै गर्दा थाहै नपाएको नेकपा एसले पनि पछिल्ला दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको भूमिका र बेवास्ताको कारण देखाउँदै समर्थन गर्न आनाकानी गरिरहेको छ ।

प्रचण्डलाई समर्थन गरिरहेका दलहरुले जे जस्तो अडान राखेपनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको स्पष्ट पारेका छन । उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे।