सरकारको न्यूनतम साझा कार्यक्रम के के समेटियो - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सरकारको न्यूनतम साझा कार्यक्रम के के समेटियो


काठमाडौं । सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

त्यस क्रममा उनले यो वर्ष सरकारले गाडी नकिन्ने कार्यक्रम बनाएको बताए । त्यस्तै नयाँ सार्वजनिक निकाय खोल्न पनि रोक लगाउने बताए । उनले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका छन् ।

‘६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने, प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने, स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ ।

कार्यक्रममा सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परीचयपत्र वितरण गर्ने, संसद् अधिवेशनबाट नागरिकता समस्या हल गर्ने विषय समेटिएको छ। त्यस्तै, छाता विश्वविद्यालय ऐन गठन गर्ने, न्यूनतम कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरू समावेश छन्।

जसअन्तर्गत् धेरै घुइँचो हुने सरकारी कार्यालयमा टाइम कार्ड,किसानलाई सहज तरिकाले मलको व्यवस्था,युवा स्वरोजगार कार्यक्रमलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा राखिएको छ। महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ।

भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानविन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने र भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने नीति कार्यक्रममा समेटिएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् । उपप्रधानमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरुलाई बुझाएको थियो ।