ग्लोबल आइएमई सबैभन्दा ठुलो वाणिज्य बैंक ! - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

ग्लोबल आइएमई सबैभन्दा ठुलो वाणिज्य बैंक !


काठमाडौं । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि सोमबारबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो ।

सोमबार एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैङ्क नेपालको पहिलो बैङ्क बनेको बताए । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैङ्क पुगेको उनको दाबी छ ।

“यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ । तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रूपमा एकीकृत गरेका छौँ”, ढकालले भने ।

एकीकृत कारोबारपछि बैङ्कको कूल पुँजी कोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैङ्कले सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याएको छ । हाल ग्लोबल आइएमई बैङ्कका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैङ्कको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैङ्क छ । बैङ्कमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

नेपाल राष्ट्र बैङ्कले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ । “मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौँ, सरकारको यो नीतिको कार्यान्वयनबाट अरू बैङ्क तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौँ”, उनले भने ।

बैङ्कको आकार र वित्तीय सूचकाङ्कमा ठुलो देखिनु मात्र सफलता नभई मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ ।

“मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठुलासम्म, वित्तीय सेवा पुर्‍याउने बैङ्कका रूपमा अघि बढिरहेको ग्लोबल आइएमई बैङ्कले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौँ”, उनले भने ।

ठुलो बैङ्क हुनुका पछाडि अवसर मात्र नभएर कैयौँ चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ । पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैङ्कलाई सबल संस्थाका रूपमा विकास गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे ।

गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए ।

उनले भने, “यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं ।” दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट, हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नीजि क्षेत्रको मनोबल उठाउन सरकार गम्भीर
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार नीजि क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले नीजि क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै वहाँले नीजि क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताए । यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तिय मध्यस्थताको लागत समेत घटेको उनको भनाई थियो ।

कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरुले पूँजिगत खर्च बढनुपर्ने, मौद्रिक नीतिमा पुनरावलोकन हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रचण्ड नेतृत्वको सरकारको पहिलो निर्णयबाट नीजि क्षेत्र उत्साहित बनेको बताएका थिए ।