प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेस नेताको तीन बुँदे असहमति - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेस नेताको तीन बुँदे असहमति


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति कांग्रेसमा असन्तुष्टि देखिएको छ । चार जना नेताले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधमामन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयमा असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद प्रदिप पौडेल र प्रकाशमान सिंहले पनि असहमति प्रकट गरेका छन् ।

उनीहरुले बैठकमा दाहाललाई विश्वासको मत दिन नहुने धारणा राखेका थिए । उनीहरुले कांग्रेस प्रतिपक्षकै भूमिकामा बस्नु पर्ने अडान राखेका थिए । कांग्रेस बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्न नसक्ने अवस्थामा कांग्रेसले कुनै निर्णय गर्नु पर्दा केन्द्रीय कार्यसम्पादन समिति बसेर आधिकारिक निर्णय गर्न सक्छ । कार्य सम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बसेर दाहाललाई विश्वसको मत दिने निर्णय भएको थियो । तर महामन्त्रीद्वयले लिखित रुपमै असहमति राखेका छन् ।

लिखितरूपमा राखिएको असहमति तीन बुँदामा रहेको थियो। असहमतिको तीन बुँदा:

१. हाम्रो संविधानले परिकल्पना गरेको शासकीय स्वरूप बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो।नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै यसलाई आफ्नो राजनीतिक दृष्टिकोणका रुपमा लिंदै यसका लागि सङ्घर्ष गर्दै आएको छ। यो प्रणालीको ध्येय र संसदको गरिमा जोगाउनु हाम्रो पार्टीको कर्तव्य हो, जिम्मेवारी हो। यसका लागि सदनमा सशक्त प्रतिपक्ष आवश्यक छ। सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भूमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन। संविधानले नै यस्तो अभ्यासको परिकल्पना गरेको छैन।यो राजनीतिक, संवैधानिक, व्यवहारिक र नैतिक दृष्टिकोणले पनि अस्वाभाविक छ।

२. यतिवेला नेपाली कांग्रेस सदनको ठुलो दल हो। ठुलो दलले सरकारको नेतृत्वको दाबी स्वाभाविक थियो। तर अहिले चुनाव लगत्तैको यो सरकार गठन हुँदा ठुलो दल सरकार बाहिर छ। संविधानको धारा ७६९२० अनुसार नै दोस्रो दलको समर्थनमा तेस्रो दलको नेतृत्वमा सरकार बनिसकेको छ। कांग्रेसले यो अवस्थाको सही विश्लेषण गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो। अहिले संविधान निर्माणका वेलाको जस्तो विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो वृहत् राष्ट्रिय सहमति आवश्यक भएको अवस्था पनि होइन।न त अहिले सरकारलाई विश्वासको सङ्कट नै परेको अवस्था छ। यो अवस्थामा आफ्नै नेतृत्वमा बनेको संविधान र लोकतन्त्रको रक्षार्थ तथा सरकारलाई जनताप्रति जबाफदेही र जिम्मेवार बनाउन कांग्रेसले संसदमा प्रतिपक्षीय भूमिकालाई नै सशक्त र रचनात्मक बनाउनुपर्छ। आगामी दिनमा कुनै पनि वेला सरकारमा विश्वासको संटक उत्पन्न भइ संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको अवस्थामा भने कांग्रेस यो व्यवस्था र संविधानको रक्षार्थ संविधान बमोजिमका विकल्प दिनका लागि तयार हुनुपर्छ। अहिले कांग्रेसले लिने निर्णयले यो भूमिका निर्वाह गर्न कदाचित अप्ठ्यारो पार्दैन।

३. उपरोक्त आधार र कारणसहित अहिलेको अवस्थामा नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने पक्षमा निर्णय गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ।