‘अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना छैन’ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

‘अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना छैन’


काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने प्रतिक्रिया दिएका छन् । उनले यस परियोजना अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको प्रष्ट पारे ।

संचारकर्मीहरुसँग छलफलको क्रममा उनले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना नै नरहेको दावी गरे ।

उनले भने, ‘एमसीसी परियोजनामा काम गर्न आउने अमेरिकी नागरिकहरूको सुरक्षाका लागि अमेरिकी सेना आउने भन्ने हल्ला सरासर निराधार हो । म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूताबासका कर्मचारीहरू र यहाँ कार्यरत् अमेरिकी पीस कोरअन्तर्गत यहाँ कार्यरत् अमेरिकी नागरिकहरूको सुरक्षा नेपाल सरकारले गरिरहेको छ, एमसीसी परियोजनामा काम गर्ने अमेरिकी नागरिकको सुरक्षा पनि नेपाल सरकारले नै गर्छ ।’

एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको विद्युत सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा बन्न लागको सडकका लागि स्थानीय प्रशासनको जानकारी विना नै सयौं रुख काटिएको भन्ने खबरका बारेमा सोधिएका प्रश्नको जवाफमा उहाँले एमसिए नेपालका अधिकारीहरूले सम्बन्धित ठाउँमा गएर ती घटनाहरूबारे सत्यतथ्य बुझिरहेको बताए ।

उनले नेपालले आफ्नो आर्थिक, राजनीतिक वा अन्य कुनै पनि नीति लिँदा नेपालीको सर्वोत्तम हित, आर्थिक उन्नतिका साथै विकासका लागि ध्यान दिनुपर्ने हुन्छ, त्यसमा अरुले हस्तक्षेप गर्ने सवाल नै नरहने बताए । राजदुत थम्पसनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयलाई अमेरिकाले शतप्रतिशत सम्मान गरेको बताउँदै नेपालको उक्त निर्णयले दुई देशबीचको मैत्री सम्बन्धमा कुनै असर नगर्ने स्पष्ट पारे ।