सातवटै प्रदेशले पायो नयाँ मुख्यमन्त्री - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

सातवटै प्रदेशले पायो नयाँ मुख्यमन्त्री


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नैलाग्दा सातवटै प्रदेशले मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री नियुक्त भएपनि मन्त्रीमण्डल गठन हुन सकेको छैन । बुधबार मात्र चारवटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।

तर सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिमण्डललाई पूर्णता दिन भने ढिला हुने देखिएको छ । प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई गत आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रमाणपत्र दिएका हुन्।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन्। एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका छन्।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।