क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त


काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर उनलाई विदेश जान रोक लगाएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

उनका अनुसार अदालतले धरौटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान रोक लगाइएको छ । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए। उच्चको यो आदेशपछि लामिछाने बिहीबार नै तोकिएको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्।

गत कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो। पुस १२ गते मङ्गलवार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि)लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।