विमान दुर्घटनाको कारण के ? - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

विमान दुर्घटनाको कारण के ?


काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टमक लागि लगिएको छ । उद्धारको क्रम जारी राखिएको छ । उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स) र (एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।

विमानमा लागेको आगो नियन्त्रणमा आएको र उद्धारकर्ताले धमाधम शव निकाल्ने जारी राखिएको छ । बिहान काठमाडौँबाट पोखराका लागि उडेको नाइनएन–एएनसी एटिआर ७२ बायुयान पोखरा बिमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको र यात्रु संख्या ६८ र चालकदलका ४ जना रहेको जानकारी यति एयरलाइन्सले जनाएको छ ।

जहाज के कारण दुर्घटनामा परेको हो भन्ने प्रष्ट भएको छैन । यद्यपी, जहाज पोखरा विमानस्थल नजिकै बढी टर्निङ् लिन खोज्दा दुर्घटनाग्रस्त भएको अनुमान लगाइएको छ । पोखराको मौसम पनि सामान्य र त्यहाँको भौगोलिक अवस्था पनि सामान्य नै रहेका कारण विमान के कारणले दुर्घटनामा पर्यो भन्ने चासोको विषय बनेको छ । दुर्घटनाको विषयमा छानविन हुन बाँकी छ ।

तर, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटनामा परेको अनुमान छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटनामा परेको अनुमान गरेका छन् ।

‘सामान्य मौसम र पोखराको भूगोलमा विमान दुर्घटना हुन साह्रै दुःखद हो । दुर्घटनाको विस्तृत अध्ययन त पछि हुँदै गर्ला तर पश्चिमबाट ल्याण्ड गर्दा टर्निङ लिन समस्या छ भन्ने सुनेका थियौँ । विमान चालकले टर्निङ् बढी लिन खोज्दा दुर्घटनामा पर्यो कि भन्ने अनुमान छ,’उनले गोरखापत्रसँग भनेका छन् ।

उनका अनुसार जहान नयाँ टेक्नोलोजी युक्त जहाज हो । जसमा एउटा इन्जिनले काम गर्न छाडे पनि अर्को इन्जिनको सहायताले जहाजलाई अवतरण गर्न सकिने अवस्था हुन्छ । अहिले भएको दुर्घटना चालकले पश्चिम दिशाबाट ल्याण्ड गर्न खोज्दा भएको हो ।

सामान्यतयाः यो विमानस्थलमा पूर्वबाट नै विमान ल्याण्ड गरिँदै आइएको थियो । काठमाडौंबाट जाँदा पूर्व दिशा नै सजिलो पर्ने भएका कारण पूर्व दिशाबाट ल्याण्ड गर्ने गरिएको उनको भनाइ छ । तर यो विमानस्थलमा पश्चिम दिशाबाट पनि ल्याण्ड गर्न मिल्छ । पाइलटले पश्चिम दिशाबाट ल्याण्ड गर्न खोज्दा बढी टर्निङ् लिँदा जहाज दुर्घटना भएको आशंका गरिएको छ ।