विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि


काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।