नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का


काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शवको पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पहिचान खुलेका र नखुलेका शवहरुको छुट्टाछुट्टै राखिदैछ । शवको क्रमसंख्याअनुसार पहिचान भएका शवहरुको परीक्षण गरिनेछ र पुनः पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

पहिचान खुलेका शवहरुको पुष्टि गर्न प्रत्येक शवको दुईजनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति प्रदान गरिने प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिएका छन्। सोमबारसम्म ७० जनाको शव फेला परेको छ। आइतबार ६८ जना शव भेटिए पनि चार जनाको शव भेटिएको थिएन। सोमबार थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सोमबार दिउँसो सेती खोँचमा थप दुई जनाको शव भेटिएको हो। २ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ। त्यस्तै अस्पतालमा पुर्‍याइएका शवमध्ये ३८ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

चालक दलका सदस्यहरु,विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरु पहिचान परीक्षणको लागि मंगलबार काठमाडौं पठाइने प्रतिष्ठानले जनाएको छ।आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए।

विदेशी टोली आइपुग्यो

विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए ।

ठूलो धक्का

नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको यती दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ। टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एनएएनसीएटिआर ७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताए।

“कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ”, टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभइ देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव सापकोटाले बताए ।

यता, विमान दुर्घटनाबाट नेपाल वायुसेवा निगमका पदाधिकारी स्तब्ध भएको जनाइएको छ । निगमले आज एक सूचना प्रकाशित गरी उक्त एयरलाइन्सको नाइन एनएएनसीएटिआर ७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाबाट निगमका समग्र पदाधिकारी स्तब्ध भएको बताइएको हो । नेपालको हवाई उड्डयानको इतिहासमै भएको यो दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाएका महानुभावमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्नसक्ने शक्ति मिलोस् भन्ने कामना पनि गरिएको छ ।

त्यस्तै, होटल सङ्घ नेपालले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । “सङ्घ र यस अन्तर्गत देशैभर रहेका क्षेत्रीय संघ संस्था स्तब्ध भएका छौँ”, हानले जारी विज्ञप्तिमा भनिएको छ, “यस शोकको घडीमा दुर्घटनामा दिवंगत भएका यात्रुहरु तथा चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।”

दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह भएको हुँदा यसबाट हवाई क्षेत्रमा मात्र नभई सिङ्गो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित भएको भन्दै नेपाली आकाश सुरक्षित बनाउनु राज्यको कर्तव्य र हामी सबै सरोकारवालाहरुको दायित्व भएको हानको भनाइ छ ।