कांग्रेस र एमालेको नजर सभामुख पदमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

कांग्रेस र एमालेको नजर सभामुख पदमा


काठमाडौं । संघीय संसदमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको छ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सार्वजनिक गर्नुभएको निर्वाचन कार्यक्रम अनुसार यही माघ ४ गते दिउसो १ बजेदेखि ४ बजेसम्म सभामुख पदमा मनोनयन दर्ताको लागि समय तोकिएको छ । सोही दिन अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यही माघ ५ गते ११ बजे प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्माणार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

तर सभामुख को बन्ने भन्ने विषय पेचिलो बनेको छ । प्रतिपक्षी भनिएको नेपाली कांग्रेसले पनि सभामुखको उम्मेदवार तयार गर्ने बताएको छ । सत्ता साझेदार दलबाट एमालले दाबी गरेको छ । एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुख दाबी गरेको बुझिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २ सय ७५ सदस्य चयन भएका थिए । हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले गर्दै आएका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख निर्वाचनमा भने सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आफ्नोतर्फबाट उम्मेदवार उठाउने तयारी गर्दा कांग्रेसले पनि सभामुखमा उम्मेदवार खडा गर्ने योजना बनाएको छ । कांग्रेसले केही दिनअघि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमार्फत सभामुखका लागि अन्य दलसँग छलफल गर्ने बताएको थियो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक कांग्रेसले सभामुखमा ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्ने विषयमा आज मंगलबार टुंगो लाग्ने बताउँछन् । एमालेले नेता पृथ्वी सुब्बा गुरुङलाई सभामुख उम्मेदवार बनाउने गरी भित्री तहमा छलफल भएको छ । कांग्रेस स्रोतका अनुसार नेता अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखका लागि इच्छा देखाउँदै आएका छन् ।