उपसभामुखमा यादव र रानामगरबीच भीडन्त - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

उपसभामुखमा यादव र रानामगरबीच भीडन्त


काठमाडौं । सत्ता गठबन्धनले उपसभामुखको उम्मेदवार टुंगो लगाएलगत्तै नेपाली कांग्रेसले पनि उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । साथै यादबले उम्मेदवारी दर्ता पनि गराइसकेकी छन् । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठक सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखमा महिला उम्मेदवार बनाएको कांग्रेसले समानुपातिका सांसद यादवलाई अघि सारेको हो । कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभामुख उमेदवार बनाएको थियो । बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा(एस) र लोसपको भोट पाएकी थिइन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरी उम्मेदवारी पनि दर्ता भइसकेको छ । झापा निवासी उनी समानुपातिक सांसद हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन छ । बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेकी मगरलाई रास्वपाले उपसभामुख बनाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् । रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम छिन भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन छन् ।

सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन् ।

उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ । शुक्रबार उपसभामुखको उम्मेदवारी दिनका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो ।शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

"