अलविदा नवीन्द्रराज जोशी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

अलविदा नवीन्द्रराज जोशी


काठमाडौं । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

जोशीको शुक्रबार साँझ ८ः२५ बजे मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । मृत्युबारे नर्भिक अस्पताल स्रोतले पनि पुष्टि गरिसकेको छ । 

गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उहाँलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री साथै पूर्वसांसद पनि रहिसकेका जोशीमा मष्तिस्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

जोशीको निधनप्रति पार्टी सभापति शेर बहादुर देउवाले एक इमान्दार र निष्ठावान नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

कांग्रेस नेता प्रकाशमान सिंहले पनि जोशीको निधनप्रति श्रद्धान्जली ब्यक्त गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,-दुखद समाचार । हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली।

त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले लेखेका छन्–
अत्यन्तै दुखद खबर ।
हार्दिक श्रद्धाञ्जली 
 नेपाली कांग्रेसका उदियमान  नेता नविन्द्रराज जोशी अब हामी बीच रहनुभएन । आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको  खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।