भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्स मनाइयो, ‘सुकुन संगीत’मा रमाए दर्शक - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्स मनाइयो, ‘सुकुन संगीत’मा रमाए दर्शक


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत शुक्रवार यहाँ आयोजित साङ्गीतिक कार्यक्रमा सहभागी भए । ‘सुकुन संगीत’नामक कार्यक्रममा भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले प्रश्तुती दिए ।

‘कुटुम्ब ब्याण्ड’ ले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहेको थियो ।

त्यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रुपमा समान रहेकाले ती देशका पारम्परिक एवं लोक संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको बताए ।

कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो । सो क्रममा कर्नाटिक २.० समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो । त्यस्तै कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रश्तुती गर्नुका साथै दुई साङ्गीतिक समूहले “तालको पानी माछीले खानी...” बोलको नेपाली लोक गीतपनि एक साथ प्रस्तुत गरे ।