ढल्यो नेपालको वित्तीय क्षेत्रको एक अग्रणी मार्गदर्शक - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

ढल्यो नेपालको वित्तीय क्षेत्रको एक अग्रणी मार्गदर्शक


काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

राणाको निधनपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको बैंक,वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन्। राणाको निधनको खबर पाएलगत्तै अर्थमन्त्री पौडेलले ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका हुन्।

त्यस्तै, नेपाल राष्ट्र बैंकले संस्थापक गभर्नर जबराको निधनप्रति दुःख व्यक्त गरेको छ। केन्द्रीय बैंकले शोक वक्तव्य जारी गर्दै जबराको निधनप्रति दुःख व्यक्त गरेको हो। ‘नेपाली अर्थतन्त्रको विकासका निम्ति नीतिगत, संरचनागत एवं व्यवस्थापकीय पूर्वाधारका कुशल निर्माता एवं प्रवर्द्धक जबराको निधनबाट राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको वित्तीय क्षेत्रले एक अग्रणी मार्गदर्शक गुमाएको छ’, शोक वक्तव्यमा भनिएको छ, ‘स्वर्गीय जबराको आत्मालाई चिर शान्ति मिलोस् भन्ने कामनाका साथ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ।’

१९८४ पुस २४ मा जन्मिएर दरबार हाई स्कुलबाट आधारभूत शिक्षा तथा बम्बई युनिभर्सिटी भारतबाट स्नातकोत्तर हासिल गरेका जबरा नेपालका एक अग्रणी अर्थविद्, आर्थिक चिन्तक तथा नेपालको वित्तीय क्षेत्रका प्रवर्द्धकसमेत थिए।

नेपाली अर्थतन्त्रको दिगो विकासका निम्ति केन्द्रीय बैंकको गभर्नरका रुपमा जबराले नेपाली नोट चलनचल्तीमा ल्याउने, नेपाली रुपैयाँको भारतीय मुद्रासँग विनिमयदर कायम गर्ने, नेपालमा बैंकिङ प्रथाको विकास गर्नेजस्ता गहन तथा आधारभूत मौद्रिक एवं बैकिङ पूर्वाधार निर्माण गरेको राष्ट्र बैंकले जनाएको छ।

यसअघि राणा शासनको अन्त्य भई नेपाल नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गरेको अवस्थामा २००७ सालदेखि जबराले अर्थसचिवको जिम्मेवारी बहन गरेका थिए। त्यस क्रममा उनले बजेट सार्वजनिकीकरणको आधार निर्माण गर्ने, राजस्व अभिवृद्धिका लागि भन्सार व्यवस्थापनको आधुनिकीकरण गर्ने, आन्तरिक राजस्व प्रशासनको सवलीकरण गर्ने, आर्थिक एवं वित्तीय अनुशासन र पारदर्शिताका लागि महालेखापरीक्षक कार्यालयको गठनलगायतका संरचना निर्माण गरी मुलुकको आर्थिक व्यवस्थापनका आधारहरू खडा गर्न अग्रणी भूमिका निर्वाह गरेका थिए। नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार एवं व्यापक बनाउने र औद्योगिक विस्तार कार्यमासमेत जबराको महत्वपूर्ण योगदान रहेको छ।