नेपाल र रावललाई कारवाही, नेपालले भनेः ओली अध्यक्ष नै होइन - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नेपाल र रावललाई कारवाही, नेपालले भनेः ओली अध्यक्ष नै होइन


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै दुबै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

कारबाहीको सूचना पाएपछि नेपाल र रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको खुलेको छ । नेपाल र रावलले सोमबार दिउँसो कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा दाहालसँग छलफल गरेका थिए ।

नेपाल र रावलसहित चार नेतालाई सोधिएको स्पष्टीकरण पत्रमा दुई नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रश्न गर्दै स्पष्टीकरण पठाएका थिए । उत्तरबाट संस्थापन समूह रुष्ट बनेको थियो ।

यता, नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन्। ‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट ? ओलीको पार्टीबाट ?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहाँसँग छैन। उहाँ एमालेको अध्यक्षनै होइन।’