पाँच खर्ब ८५ अर्ब आठ करोड विप्रेषण भित्रियो, विदेशी मुद्राको सञ्चिती बढ्यो - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

पाँच खर्ब ८५ अर्ब आठ करोड विप्रेषण भित्रियो, विदेशी मुद्राको सञ्चिती बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो ।

त्यस्तै, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

यता, केन्द्रीय बैंकको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिती बढेको छ । विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ ।