सुदूरपश्चिम प्रदेशमा कमल शाह मुख्यमन्त्री नियुक्त, रावल पदमुक्त - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

सुदूरपश्चिम प्रदेशमा कमल शाह मुख्यमन्त्री नियुक्त, रावल पदमुक्त


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । उनलाई बिहीबार साँझ मुख्यमन्त्री बनाइएको हो । उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका थिए । त्यसपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा कमल शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी निवर्तमान मुख्यमन्त्री रावलले राखेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताएका थिए ।

प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिए । विहीबारको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का प्रदेश सभा सदस्य अनुपस्थित भएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले, नेकपा माओवादी केन्द्र, नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यको बहुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विहीबार विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो ।

५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेशस भाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान अनुसार कांग्रेस संसदीय दलको नेता शाह मुख्यमन्त्री बनेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।