अख्तियारलाई खुम्च्याइयो - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

अख्तियारलाई खुम्च्याइयो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार बढाउन माग गरेको छ । आफ्नो ३२ औं स्थापना दिवसमा राज्यका प्रमुख पदाधिकारीहरु समेत उपस्थित गराइएको कार्यक्रममा आयोगले नीतिगत सुधार र कानून संशोधन गरेर क्षेत्राधिकार बढाउन माग गरेको हो ।

बहुदल स्थापनाको अर्को वर्ष २०४७ माघ २८ मा भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै स्वायत्त र संवैधानिक हैसियतसहित अख्तियारको स्थापना भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्रै सीमित गरिएकोले अनुचित कार्य,स्वार्थको द्वन्द्व, निजी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारमाथि पनि अनुसन्धान गर्न पाउने गरी नीतिगत र कानूनी सुधार गर्न आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको समेत जिकिर गरे । गत महिना प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा अख्तियारले अनुसन्धानका नाममा हस्तक्षेप गरेको,सक्कलै फाइल मगाई लामो समय रोकेर राख्दा विकासका काम प्रभावित भएको गुनाशो उठेको थियो । तर,आयोगको वार्षिकोत्सव कार्यक्रममा प्रमुख आयुक्त राईले विकास निर्माणका आयोजना प्रभावित हुनेगरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको दवी गरेका हुन् ।

प्रमुख आयुक्त राईले आयोगलाई कारण देखाई कुनैपनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीवाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरुलाई चेतावनी समेत दिए । उनले पूर्वाधारहरुको निर्मांणमा वर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराए ।

तीनै तहका शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, सरसफाइ लगायतका संवेदनशील सेवा क्षेत्रमा सरकारी स्रोतको हानी नोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू पछिल्लो दिनहरुमा बढिरहेको भन्दै प्रमुख आयुक्त राईले तदारुकताका साथ छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिए । ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन् तथा दोहनलाई नियन्त्रण गर्नुपर्ने अवस्था रहेको भन्दै प्रमुख राईले त्यस्ता उजुरीमाथि निर्भिक भएर अनुसन्धान भइरहेको दावी गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छिन् । भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् ।

त्यस्तै प्रमुख आयुक्त राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने पनि बताए ।राईले पूर्वाधार निर्माण बर्सेनि ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताए । उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको उल्लेख गरे ।