राष्ट्रपतिको सवारीले सडकमा सास्तीः चिकित्सकले पोखे आक्रोश - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

राष्ट्रपतिको सवारीले सडकमा सास्तीः चिकित्सकले पोखे आक्रोश


काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकलेगरेको निर्णय अनुसार मिति २०७९ माघ २९ गते आईतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आम सर्वसाधारणहरुको भावना र मर्म अनुसार सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै संघले लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न पनि माग गरेको छ ।

त्यस्तै, भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको हो।

तर आदेश दिने प्रहरी अधिकारीलाई भने कुनै कारबाही भएको छैन । राष्ट्रपतिको सवारीको विषयमाथि विगतमा पनि पटक पटक बहस हुँदै आएको थियो । २०६५ सालमा जनताले जिताएका प्रतिनिधिले राजसंस्था फालेर मुलुकमा गणतन्त्र ल्याए पनि हिजो राजतन्त्र छँदा राजाको सवारीका बेलामा जुन दुःख र पीडा नागरिकले खेप्नु परेको थियो अहिले गणतन्त्रका बेलामा पनि त्यही दुःख र पीडा भोग्नु परिरहेको भनेर सर्वत्र आलोचना भइरहेको छ ।

भीभीआईपीहरुको सवारीका बेलामा हुँदै आएको यो अवरोधले भने निकै नै गम्भीर चुनौती थपेको छ । व्यवस्था फेरिएपछि अवस्था पनि फेरिएको अनुभूति नागरिकले पाउनुपर्ने आवाज उठेको छ ।