सडकमा यातायात मजदुरको आक्रोश, आन्दोलन अनियन्त्रित - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

सडकमा यातायात मजदुरको आक्रोश, आन्दोलन अनियन्त्रित


काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।

ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका छन् । आन्दोलन नियन्त्रणबाहिर जान थालिसकेको छ । आन्दोलनमा भीड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेर निजी पसलहरु तोडफोड गरेको छ । त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।

मंगलबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो । यातायात मजदुरहरुले सडकमा सवारी साधन तेस्र्याएर बिरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध भएको थियो ।

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताए । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको थियो । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका थिए । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका थिए ।

आन्दोलन अराजक र अनियन्त्रित बन्दै माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

यातायात क्षेत्रका मजदूरहरु यातायात व्यवस्था कार्यालय र विभागको गलत नीतिको शिकार बनिरहेको बताउँदै आएका छन्। उनीहरूले दुर्घटना न्यूनीकरणको नाममा झण्झटिलो ट्राफिक नियमावलीको कारण दैनिक रूपमा दशौं यातायात मजदूर कामविहिन हुनुपरेको भन्दै पाँचपटक ट्राफिक नियमावलीअन्तर्गत कार्वाही परेका यातायात क्षेत्रमा समर्पित चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्वन गर्ने सरकारी नीतिको कारण हालसम्म सयौँ चालकहरु बेरोजगार हुनुपरेको बताएका छन्।

"