विश्वकप लिग-२ क्रिकेट श्रृंखलामा नेपालको सनसनीपूर्ण शुरुआत - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

विश्वकप लिग-२ क्रिकेट श्रृंखलामा नेपालको सनसनीपूर्ण शुरुआत


काठमाडौं । काठमाडौंमा शुरु भएको विश्वकप लिग–२ क्रिकेट श्रृंखलामा नेपालले सनसनीपूर्ण शुरुआत गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियामाथि २ विकेटको सनसनीपूर्ण जित हासिल गरेको हो । नेपालले एक दिवसीयमा पहिलो पटक नामिबियालाई जितेको हो ।

२८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालले अहिलेसम्मकै फराकिलो चुनौती पूरा गरेको हो । नेपालको जितमा विशेषगरी ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल, कप्तान रोहित पौडेल र करण केसीको महत्वपूर्ण भूमिका रह्यो । कुशलले ब्याटिङमा निकै कौशल देखाउँदै पहिलो अन्तर्राष्ट्रिय शतक बनाए । उनले ११३ बलमा ११५ रन बनाएका हुन् ।

रोहित पनि जितको आधार खडा गरेर मैदानबाट बाहिरिए । ५३ रन जोड्दा २ विकेट गुमाइसकेको अवस्थामा आएका रोहितले कुशलसँग मिलेर तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए । यो साझेदारी एक दिवसीयको नेपालको कीर्तिमानी साझेदारी हो । सो क्रममा उनले आकर्षक खेल्दै ७६ बलमा ३ छक्का र ७ चौकाको मद्धलते ७२ रन बनाए ।

रोहित एक दिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यानसमेत बनेका छन् । नामिबियाविरुद्ध ५५ रन बनाएसँगै उनले यो उपब्लधि हासिल गरेका हुन् ।

उनले ३३ औं खेल खेल्दै एक हजार रन बनाएका हुन् । उनले १०१७ रन बनाइसकेका छन् । रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

उनी गत वर्षको केन्या भ्रमण यता कप्तान छन् । तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा निलम्बनमा परेपछि रोहितले नेपालको कप्तानी सम्हालेका हुन् ।

नेपाललाई जिताउने क्रममा सनसनी खेलेका करणले ब्याटिङ पनि सनसनी गर्र्दै १२ बलमा अविजित रहँदै २० रन जोडे । त्यस्तै सन्दीप जोराले २८ तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ रन जोडे ।

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि नामिबियाले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २८५ रन बनायो । नेपालले शुरुआतमै विकेट लिए पनि त्यसपछि सुधारोन्मुख देखिएको नामिबियाका लागि माइकल भन लिंगेनले १३३ रन बनाए । त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ५६ रन जोडे । जेन ग्रिनले १९ बलमा ३४ रन बनाए ।

नेपालका लागि करण केसीले ६१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै बलात्कार आरोपमा गत भदौ २३ गतेदेखि निलम्बित भएर मुद्दा खेपिरहेका सन्दीप लामिछानेले पहिलो पटक मैदानमा आएर ६६ रन खर्चिदै ३ विकेट लिए । उनको मुद्दा भने जारी नै छ । यही अवस्थामा नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गरेर यही प्रतियोगिताका लागि समावेश गरेको हो ।

त्यस्तै सोमपाल कामी र कुशल मल्ले १–१ विकेट लिए । कीर्तिपुर मैदानमा क्रिकेटप्रेमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।